
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष समितिले काम शुरु गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले बजेट बनाउने क्रममा अनधिकृत मानिसलाई प्रवेश गराई करका दर हेरफेर गरिएको आरोप सम्वन्धमा अर्थ मन्त्रालयबाट कागजात मगाउने निर्णय संसदीय विशेष समितिले छ । समितिले हेरेफेर भएको भनिएको रातको सीसीटीभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलव्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले अर्थ मन्त्रालयलाई कागजात माग्न पत्र पठाउने निर्णय गरेको हो । समितिले कार्यविधि पारित गरेको छ । तर समितिको सभापतिमा भने सत्ता पक्ष र प्रतिपक्षको दाबी भएकाले मंगलबार निर्णय हुन सकेन । समिति सभापति सर्वसम्मतले चयन गर्ने भन्दै बुधबार फेरि बैठक बोलाइएको छ । असार २२ गते गठित समितिमा ११ सदस्य छन् । उनीहरूलाई १० दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउन भनिए पनि ६ दिनपछि मात्रै पहिलो बैठक बसेको हो ।