
काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि तिहार र छठ पर्वमा चिनि नआउने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो ।
सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन ।
खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा सहुलियत चिनी ल्याउन नसकेको बताए । उनले चिनी आयातका लागि फेरि दोस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए ।
महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सरकारी प्रक्रिया पूरा गर्दा सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए ।
साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियतमध्ये ५ हजार टन ल्याइसकेको छ । तिहार र छठसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए ।
उनले सरकारले सहुलियतमा आयात गर्न आफूहरूलाई दिएको अनुमतिअनुसार निरन्तर आइरहेको जानकारी दिए । साल्टसँग अहिले मौज्दात चिनी भएपछि निजी व्यापारीलाई प्रतिकिलो ७७ रुपैयाँ २० पैसामा बिक्री गरिरहेको उनले जानकारी दिए । निजी व्यापारीले भने थोकमा नै प्रतिकिलो ८१ देखि ८३ रुपैयाँसम्म लिइरहेका छन् । तिहार र छठपर्व नजिकिँदै जाँदा व्यापारीले थोकमै चिनीको मूल्य बढाएका छन् । सामान्य अवस्थामा मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन आवस्यक पर्ने सरकारी तथ्यांक रहेको छ ।