
पालिका एक्सप्रेस,प्राइम कमर्शियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले जेठ ३१ गते देखि ५ वर्ष अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ताको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। सो मध्ये २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गते सम्ममा र ढिलोमा असार १४ गतेसम्म आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।