१९ जेष्ठ २०७९, बिहीबार   152 पटक हेरिएको


image

काठमाडौं । मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्विर बाहिरियो । वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो । प्रायः भेटवार्ता हुँदा यसबारे जारीकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिए । स्थापितलाई बलियो र बालेनलाई तेस्रो स्थानमा राखेका कतिपय एमाले नेता कार्यकर्ता उनको धमाकेदार जितबाट महानगरमा पार्टीको अवस्थालाई लिएर निराश बनिरहेको बेला ओलीसँग बालेनको भेटको फोटो सार्वजनिक हुँदा खुसी मनाएका थिए । उनै बालेन हिजो (बुधबार) प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।

काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापतिसँग बालेनले काम गर्न सहयोग मागे । देउवाले पनि पूर्ण रुपमा सहयोग हुने वचन दिए । यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले ‘बबाल’ गरेको र बालेनको काममा भाँजो हाल्न सक्ने उनका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिए । बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रुपमा विजयी भएका कारण सबैको हुन खोजेको र सबैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिन खोजेका छन् ।

महानगरमा दिग्गज राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उनले कच्चा राजनीतिक व्यवहान नगर्ने संकेत पछिल्ला कार्यले देखाएको छ । मेयर बालेनको नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ ।





सम्बन्धित समाचार