
चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेणु दाहालाई कुनै पनि हालतमा सहयोग गर्नुपर्ने बताएका छन् । भरतपुरमा बिहीबार आयोजित संयुक्त पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले दाहालको प्रशंसा गर्दै राम्रो काम गर्ने मानिस भनि टिप्प्णी गरे ।
उनले भरतपुरमा चुनाव जिताएर गठबन्धनलाई बलियो बनाउनुपर्ने बताए । ‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस्, उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस्, त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘बेरूजु नहुने एक मात्र नगरपालिका भरतपुर हो, अरु नगरपालिकामा धेरै बेरूजु छ ।’ रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते देशभर हुँदै छ । आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ, तर के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’