
अधिवक्ता सुबासचन्द्र अधिकारी
हेटौडा
सम्पर्क न :-९८४५१२७०१८
Email:- subasadhikari@gmail.com
पृष्ठभुमि:-
हाम्रोजस्तो सामाजिक परिवेशमा विवाह एक सामाजिक साँस्कृतिक क्रियाकलाप हो जसले महिला र पुरुषलाई एकाकार गर्दै सामाजिक संरचना संचालन गर्न सघाउ पुर्याउने काम गर्दछ ! नेपालको परिप्रेक्ष्यमा विगतका पद्धति हेर्ने हो भने कुनै महिला र पुरुष बिचको त्यस्तो सम्बन्ध जसलाई समाजको स्विकार्यता प्राप्त हुन्छ र उनीहरु एकै स्थानमा एकसाथ बसी सन्तानोत्पादन लगायतका क्रियाकलाप गर्दछ्न् लाई नै विवाह मान्ने गरिन्थ्यो ! नेपाल एक बहुसाँस्कृतिक मुलुक भएकोको जातीयता वा साँस्कृतिक आधारमा पनि हरेकको विवाह पद्धति फरक फरक रहेको पाइन्छ ! नेपालमा अवलम्बन गरिने हरेक धर्मले विवाह सम्बन्धि व्यवस्थालाई समेटेको पाइन्छ । सारमा भन्नुपर्दा सबै धर्महरुले विवाह गर्न विवाह गरिने दुबै पक्षहरू शारीरिक, मानसिक तथा आर्थिक रुपमा समेत सक्षम वा परिपक्व हुनुपर्छ भन्ने कुरामा जोड दिएको पाइन्छ । परापुर्व कालदेखि नै यसरी धर्मको आडमा पाप र धर्मको डरले चलिरहेको सामाजिक संरचनालाई हाल कानुनी रुप दिई त्यसैलाई गलतमा दण्ड दिइने व्यवस्था समावेश गरिएको हो ।
कानुनी व्यवस्था :
कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोहमा, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा बिवाह भएको मानिनेछ” भनि मुलुकी देवानी संहिता २०७४ को दफा ६७ मा बिवाहको अर्थ उल्लेख गरेको पाईन्छ भने पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जिवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ भनी दफा ६८ मा बिवाहको महत्व समेत लाई प्रष्ट्याईएको छ ।
यस संहितामा विवाह गर्ने स्वतन्त्रता सम्बन्धमा दफा ६९ मा (१) प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रहि बिवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जिवनयापन गर्ने स्वतन्त्रता हुने कुरा प्रष्ट उल्लेख गरिदिएको पाईन्छ साथै बिवाहलाई सार्वजनिक गर्नु वा गराउनु पर्ने वात्ध्यात्मक व्यवस्था समेत गरेको देखिन्छ । प्रत्येक व्यक्तिको पारिवारिक जिवन अनतिक्रम्य हुने कुरा समेत कानुले ग्यारेण्टी गरेको छ।
संहिताको दफा ७० को उपदफा १ मा महिला र पुरुष बिच के कस्तो अवस्थामा बिवाह हुन सक्ने भन्ने कुरा प्रष्ट पारिएको छ:-
(क) पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा,
(ख) कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा,
(ग) पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा, (घ) बीस वर्ष उमेर पूरा भएमा ।
दफा ७० को उपदफा (२) मा “आफ्नो जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन” भनी कुनै बिशेष जातीमा चलि आएको परम्परा बमोजिम बिवाह गर्न माथि उल्लेखित कानुनी व्यवस्थाले नछेक्ने गरि कानुनमै प्रष्ट व्यवस्था भएको पाईन्छ।
त्यस्तै संहिताको दफा ७१ ले निम्न अवस्थामा बिवाह गर्न गराउन हुदैन भनी तोकेको देखिन्छ :-
(१) कसैले पनि दफा ७० बमोजिम बिवाह हुन सक्ने अवस्था नरहेको पुरुष वा महिलासँग बिवाह गर्न वा गराउन हुदैन ।
(२) कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई बिवाह गर्न वा गराउन हुदैना:–
(क) शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गने जीवाणु (एच.आई.भि) वा हेपाटाइहटस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कुनै रोग लागेको,
(ख) यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गने क्षमता नभएको प्रमाणित भैसकेको,
(ग) पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टीविहीन वा कुष्ट रोगी भएको,
(घ) होस ठेगानमा नरहेको,
(ङ) विवाह भै सकेको,
(च) गर्भवती भएको,
(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको । उल्लेखित अवस्थाको विध्यमानता रहदा रहदै कसैले झुक्याई बिवाह गराएमा मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र क्षतिपुर्ति दावी समेत दावी गर्न सक्ने कानुनी रुपमै व्यवस्था गरेको छ ।
मुलुकी देवानी संहिताको दफा ७२ मा पुरुष वा महिलाको मञ्जुरी नभई भएको बिवाह, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरु बिच भएको बिवाह, बीस वर्ष उमेर पूरा नभई भएको बिवाह र कानून बमोजिम अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक बिवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को बिवाह,कायम हुन नसक्ने साथै कानुन बमोजिम श्वत: बदर भइ विवाह कायम रहन नसक्ने अवस्था समेत उल्लेख गरेको पाइन्छ। त्यसैगरी निम्न अवस्था विध्यमान रहेमा बिवाह गर्ने कुनै व्यक्तिले मञ्जुर नगरेमा त्यस्तो बिवाह बदर गराउन सक्ने प्रावधान रहेको छ : पुरुष वा महिलाको मञ्जुरी नभई भएको बिवाह, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको बिवाह, बीस वर्ष उमेर पूरा नभई भएको बिवाह र कानून बमोजिम अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक बिवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को बिवाह ।
त्यसैगरि दफा ७२ वा दफा ७३ मा भएको कानुनी व्यवस्था बमोजिम बिवाह बदर भएमा,कानून बमोजिम पतिपत्नीको सम्बन्ध विच्छेद भएमा र पत्नीले कानून बमोशिम सम्बन्धविच्छेद नहुदै अको विवाह गरेमा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ भनि देवानी संहिताको दफा ८२ मा बैवाहिक सम्बन्धको अन्त्य हुने आधारहरु तोकेको देखिन्छ ।संहिताको दफा ८२ बमोजिम बैवाहिक सम्बन्ध अन्त्य नभएसम्म बैवाहिक सम्बन्ध कायम रहिरहने हुन्छ ।
यस संहिताले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वताः बिवाह भएको मानिने भनि संहिताको दफा ७४ मा उल्लेख गरेको देखिन्छ ।तर (क) जबरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मएमा, (ख) दफा ७० को उपदफा (२) बमोजिम बिवाह गर्न हुने नाता सम्बन्धमा बाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको भए पनि सोहि कारणले पुरुष र महिला बीच स्वताः बिवाह भएको मानिने छैन । साथै दफा ७० को उपदफा (१) को खण्ड (घ) विपरीत भएको बिवाह अर्थात २० बर्ष उमेर नपुगी भएको बिवाह तथा बहुविवाह कायम हुने अवस्था भएमा समेत बिवाह भएको नमानिने अवस्थाहरु प्रष्ट उल्लेख भएको पाईन्छ ।
संहिताको दफा ७६ मा कानुन बमोजिम तोकिएको अधिकारी समक्ष निवेदन दिई बिवाह दर्ता गराउनुपर्ने कुरा कानुनले नै निर्दिष्ट गरेको छ भने दर्ताद्वारा नै विवाह हुन सक्ने कुरा समेत संहिताको दफा ७७ मा उल्लेख गरेको पाईन्छ । त्यसरी दर्ता द्वारा विवाह गर्न पहिलेको व्यवस्थामा जिल्ला प्रशासन कार्यालयले गर्ने गरेकोमा यो संहिताले सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदूतावास वा महावाणिज्य दूतावास समक्ष निवेदन दिनु पर्ने प्रावधान राखेको छ।
संहिताको दफा ८१ मा विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ भन्ने उल्लेख गर्दै विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने गरि व्यवस्था समेत गरेको देखिन्छ । साथै पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्ने समेत व्यवस्था यस संहिताले गरेको छ।
मुलुकी देवानी संहिताको दफा ८३ मा, दफा ८२ बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति वा पत्नीले कानून बमोशिम अंशबण्डा गरी मिन्न भएमा पुनाः विवाह गर्न सक्ने कानुन न पुन विवाह गर्न सक्ने अवस्थाहरु उल्लेख गर्नुका साथै बिवाहका बिषयमा मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारवाही भए गरेको मितीले तीन महिना भित्र नालेस वा उजुरी दिनुपर्ने गरि मुलुकी देवानी संहिताको दफा ८४ मा हदम्यादको समेत स्पष्ट व्यवस्था गरेको हुँदा तोकिएको समयमा नालेस उजुर नगरेमा कानुन बमोजिम कानुनी उपचार पाउन नसक्ने देखिन्छ ।
उपसंहार:
कानुनी साथै सामाजिक साँस्कृतिक रूपमा समेत विवाहलाई एक अनतिक्रम्य बन्धन मानिएको वर्तमान परिप्रेक्ष्यमामा विभिन्न कारणहरुको फलस्वरूप सम्बन्ध दिगो रहन नसक्ने अवस्था आइपर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा मर्कामा पर्ने पक्ष वा व्यक्तिले मर्कामा पर्ने कारण परेको मितिले कानुनका म्याद भित्र सम्बन्धित जिल्ला अदालतमा उपस्थित भइ आफ्नो मर्का लाई उजुरी मार्फत अदालत समक्ष प्रस्तुत गरि परेको मर्काबाट कानुन बमोजिम मुक्ति पाउन सक्ने अवस्था रहन सक्दछ ।