
काठमाडौं । स्थानीय तहको निर्वाचनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचन को मिति तोकिएको छ।
महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
मेयर साहले यसअघि दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो । त्यसपछि उनले पुनः सर्वाेच्च प्रशासनको कदमविरुद्ध रिट दर्ता गरेका थिए । दरपीठविरुद्ध दायर भएको रिट पहिलो पेसीका लागि भनेर आज मंलबारलाई तोकिएको थियो । तर, उक्त रिटमाथि न्यायाधीश श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरे पनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै मेयर साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।
साथै, उक्त रिटमाथि सरकारको नाममा कारण देखाऊ आदेश जारी पनि गरिएको छ ।