
पालिका एक्सप्रेस, राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडले फागुन ४ गते बुधवार देखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा २० लाखभन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ साढे ५ बजे सम्ममा २० लाख ६७ हजार ४४३ जना आवेदकबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख ६८ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ताको ८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।
जस मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको छ ।
यस लघुवित्त कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले छिटोमा फागुन ८ गते आईतबार सम्म र ढीलोमा फागुन १८ गते सम्म आवेदन दिन सक्नेछन् ।यस लघुवित कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।