
पालिका एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले बुक क्लोज मिति तय गरेको छ ।बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मङ्सिर ६ गते १ दिनका बुक क्लोज गर्ने भएको छ ।
त्यसकारण मङ्सिर ५ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुने जनाएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १२.६१ प्रतिशत तथा नगद लाभांश ३.३८९ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सोहि सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रतिवेदन ,वासलात , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण सहितका विवरण अनुसूचीहरू छलफल गरी पारित गर्ने छ ।
बैंकको आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन् ।
साथै सोहि सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।