
कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कात्तिक १० गते १ दिनको लागि बुक क्लोज गर्ने भएको छ ।
त्यसैले, आज कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १८.५० प्रतिशत र नगद लाभांश ०.९७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन वासलात , नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, यसका साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ,संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सोहि सभाले पारित गर्नेछ।