३० असार २०७८, बुधबार   820 पटक हेरिएको


image

काठमाडौं । यसपालिको वसन्त ऋतुमा कुल १९ टिमका १ सय ८२ आरोही सगरमाथा चुचुरो पुग्न सफल भएका छन् । पर्यटन विभागका अनुसार उनीहरूको सहयोगका लागि खटिएका २ सय ७५ जना सहयोगी स्टाफले समेत सगरमाथा आरोहण गरेका छन् । विभागको तथ्यांकअनुसार यस ऋतुमा सगरमाथा चढ्न कुल ४३ समूहका ४ सय ८ आरोहीले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये २ सय २६ जना आरोही भने चुचुरो नपुगी फर्किएका छन् । कोरोना महामारीको अन्यौलका बीच यो वर्ष सगरमाथासहित हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहीको उत्साहजनक सहभागिता भएता पनि मौसमले भने राम्रोसँग साथ दिएन । २ जेठमा जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गरि ताउ–ते नामक शक्तिशाली चक्रवातको चेतावनी दिँदै हिमाल आरोहण नगर्न सिफारिस गरेको थियो । आँधीको प्रभाव कम नभएकाले आरोहण नगर्न विभागले १४ जेठमा फेरी अर्काे विज्ञप्ती निकाल्यो । यसपछि धेरै आरोही फर्किएका थिए ।

यो वर्षको वसन्त ऋतुमा कुल १६ वटा हिमाल आरोहण गर्न अनुमति जारी भएको थियो । तर, सफल आरोहण भने मात्र ६ वटा हिमालमा प्राप्त भएको छ । विभागकी निर्देशक मीरा आचार्यका अनुसार यो सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथा चढेका छन् । सगरमाथापछि दोस्रो स्थानमा ल्होत्से रहृयो । यहाँ चार टिम लिडर, २१ आरोही र ४७ जना सहयोगी स्टाफ गरी कुल ७२ आरोहीले चुचुरो चुम्न सफल रहे । माउन्ट अन्नपूर्ण प्रथममा यो वर्ष दुई टिम लिडर, २७ आरोही र ३९ सहयोगी स्टाफ गरी कुल ६८ जना चुचुरोमा पुगे । अमादब्लम हिमालमा दुई टिम लिडर, १५ सदस्य र ६ सहयोगी गरी २४ आरोहीले सफल आरोहण गरेका छन् । माउन्ट पुमोरीमा एक टिम लिडर, तीन आरोही र ६ सहयोगीका साथ कुल १० आरोही चुचुरोमा पुगे । बरुण त्से हिमालमा एक लिडर र एक आरोही गरी कुल दुई जना चुचुरो पुगेको विभागको तथ्यांक छ । यो वर्ष कुल १६ हिमाल चढ्न ८४ समूहका ७ सय ४२ जना आरोहीले अनुमति लिएका थिए ।

तर, सबै हिमालमा गरी ३० समूहका २ सय ६० आरोहीले मात्र चुचुरो चुम्न सकेको तथ्यांकले देखाएको छ । अर्थात् कुल अनुमति प्राप्त आरोही संख्याको ३५ प्रतिशत आरोहीले मात्र सफलता प्राप्त गरेका छन् । अनुमति प्राप्त आरोहीबाहेक ३ सय ७३ जना सहयोगी स्टाफले यी हिमाल चढेका छन् । यसअनुसार हिमाल चुचुरो पुग्ने कुल आरोहीको संख्या ६ सय ३३ रहेको छ । यसैगरी विभागको तथ्यांकअनुसार यो वर्ष कुल ६७ जना महिलाले विभिन्न हिमालको आरोहण गर्न सफल भएका छन् । यो संख्या टिम लिडर, आरोही सदस्य र सहयोगी स्टाफसमेतको हो । तथ्यांकअनुसार सगरमाथामा चार टिम लिडरसहित ३४ महिलाले सगरमाथा चढेका छन् । यहाँ पाँच जना महिलाले भने सहयोगी स्टाफका रूपमा आरोहण गरेका थिए । पुमोरीमा दुई आरोही, ल्होत्सेमा ६ आरोही र तीन स्टाफ, अन्नपूर्णमा सात आरोही र पाँच स्टाफ, अमादब्लममा एक टिम लिडर गरी कुल ६७ जना महिलाले हिमचुचुरो सफलतापूर्वक आरोहण गरेका छन् ।

यस सिजनमा सरकारले विभिन्न हिमालमा जारी अनुमतिबाट ७१ करोड ४८ लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । यसमध्ये सबैभन्दा बढी आम्दानी सगरमाथाबाट भएको छ । सगरमाथाबाट विभागले ६६ करोड १३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको थियो । ल्होत्सेबाट २ करोड ६४ लाख, अन्नपूर्ण प्रथमबाट ९१ लाख रुपैयाँ, अमादब्लमबाट १२ लाख, नुप्त्सेबाट २६ लाख, मकालुबाट ४२ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।





सम्बन्धित समाचार