२९ असार २०७८, मंगलवार   747 पटक हेरिएको


image

घाँसीले कुवा खन्दै गरेको देखेर भानुभक्तको हृदयमा साहित्यको मूल फुट्न पुगेको कथा मलाई सानैदेखि निकै नै प्रेरणादायी लाग्छ lउनीहरूको समय भन्दा निकै ढिलोगरी जन्मिन पुगेको कारण आफ्नै आँखाले उनीहरूलाई देख्न र भेटेर भलाकुसारी गर्ने मौका त मलाई जुरेन l त्यसो त त्यही युगमा जन्मेको भएपनि पक्कै भेट हुन्थ्यो भनेर विश्वास गर्न सकिन्न l जे होस्, कहिले नेखेर पनि देखे-देखे जस्ता लाग्ने, कहिले नभेटेर पनि धेरै चोटी भेटे-भेटे जस्ता लाग्ने यी दुबै ऐतिहासिक पात्रप्रति मेरो हृदयमा सदा-सदाको लागि गहिरो प्रेम, सम्मान र आदरको छालहरू उठिरहेकै हुन्छ l

म छ/सात वर्षकै हुँदा मेरो घरमा बुबा र हजुरबुबाले रामायण पढेको सुनिन्थ्यो l पुरै कथा र अर्थ नबुझेपनि शार्दूलविक्रिडित छन्दको सौन्दर्य र मेरो बुबाको सुरिलो आवाजको तालमेलले गर्दा मलाई रामायणको वाचन निकै नै कर्णप्रिय लाग्थ्यो l ठूलो भएपछि म पनि यसरी नै रामायण पढ्न सकूँ भन्ने कल्पना गर्थें l प्रायः हिउँदका लामो रातहरूमा बुबाले रामायण बाचन र हजुरबुबाले श्लोकको अर्थ बुझाउने कार्य गर्नु हुन्थ्यो l  त्यही शिलशिलामा रामायणलाई नेपालीमा अनुवाद गर्ने व्यक्ति भानुभक्त हुन् भनेर सुनेको थिएँ l रामायणका माध्ययमबाट घाँसी भन्दा पहिले भानुभक्तसँग परिचय भएको थियो मेरो l तर भानुभक्तको प्रेरणाको स्रोत घाँसी रहेछन भन्ने कुराचाहिं विद्ध्यालय शिक्षाको क्रममा बल्ल चाल पाएँ lघाँसीको बारेमा अहिले पनि मलाई निकै नै थोरै जानकारी छ तर बाल्यकाल देखि धेरै पटक नेपाली रामायण सुनेको र पढेको हुनाले होला, आदिकवी भानुभक्त भने चीरपरिचित मात्र होइन, किन-किन आफ्नै बाजे, बराजु जस्तै भान हुन्छन् lसानो छँदा कहिलेकाहीं सोच्थें, प्रायः सधैं दौरा-सुरुवालमा सजिइरहने मेरो हजुरबुबाको टाउकोमा बिर्के टोपी थप्न पाए कम्तिमा मेरोलागि भएपनि भानुभक्तको झल्को मेटिन्थ्यो कि ?

किन को कुन्नि आज मलाई घाँसी, भानुभक्त र फेसबुकलाई सँग-सँगै कल्पना गरेर हेर्न मन लाग्दैछ lहुन त न घाँसी र भानुभक्तको फेसबुक सँग भेट भयो न फेसबुकले नै उनीहरूलाई आफ्नो सदस्यको रुपमा दर्ता गर्न पायो l यथार्थमा नजोडिएका ती पात्र र अहिलेको फेसबुकलाई कल्पनामै सही जोडेर अनुमान गर्न रहर लाग्यो lयदि यिनीहरुकोभेटघाट हुन पाएको भए कस्तो नाता-सम्बन्ध कायम हुन्थ्यो होला भन्ने जिज्ञाशाले मेरो मनमा चिमोटी रहन्छ lयदि उनीहरु पनि अहिलेको ‘फेसबुकमय’ दुनियाँमै जन्मेको भए उनीहरूले आफ्नो लक्ष्य हाँसिल गर्न वा आफ्नो प्रचारप्रसार गर्न फेसबुकलाई कसरी उपयोग गर्थे होलान त ?

शुरुमा घाँसीको बारेमा कल्पनाको उडान भर्न मन लाग्यो lत्यो युगमा जन्मिएका घाँसीको कर्मचेतना र परोपकारी भावनाले उनी आफू र भानुभक्त दुबैलाई अमर बनायो l तर यदि घाँसी अहिलेको कालखण्डमा जन्मिएका भए यस्तो पो हुन्थ्यो होला कि ?

  • आफ्नो मनमा कुवा खन्ने इच्छा आउने बित्तिकै घाँसी एउटा आर्थिक सहयोगको प्रस्ताव तयार गरेर ‘सरकारी अनुदान’ को लागि थरी-थरीका सरकारका विभिन्न सरकारी कार्यालय तिर पो दगुर्थे कि ?
  • सरकारी कार्यालयमा कुनै शासक वा प्रशासकको कार्यकक्षमा पुग्ने बित्तिकै एउटा फोटो खिचेर “कुवाको लागि आवश्यक पहल गर्दै” भनेर सायद फेसबुकमा पोस्ट गरिसक्थे होलान घाँसीले l यता राज्यको कुर्सिधारी महानुभावको फेसबुकको भित्तामा “कुवाको लागि आवश्यक छलफल हुँदै” भनेर अर्को फोटो पोस्ट भइसकेको हुन्थ्यो होला l
  • सरकारी निकायले घाँसीसँग भेट हुने बित्तिकै ‘कहिल्यै कुवाको पानी नचाखेका’ तर विज्ञ कहलिएका कुनै व्यक्ति खोजेर कुवाको सम्भाव्यता अध्ययन वा DPR पो बनाउन लगाउँथ्यो कि ?
  • सरकारी निकायबाट बजेट बिनियोजन भैहाल्यो भने फेरी दुइ थरी फेसबुक पोस्ट पढ्न पाइन्थ्यो होला l एकातिर घाँसीले “यो बजेट मेरो पहलबाट आएको हो” भनेर पोस्ट गर्थे होलान अर्कोतिर सरकारी कुर्सीका मालिकले आफ्नै व्यक्तिगत खाताबाट कुवाको लागि बजेट बिनियोजन गरेको जस्तो भान हुने शैलीको फेसबुक पोस्ट गर्थे होलान l
  • फेसबुक पोस्टिंगको अभियान यतिमा मात्रै सीमित हुँदैनथ्यो होला सायद lकाम शुरु नहुँदै शिलान्यासको फोटो, बिचबिचमा “मेरो कृपाले कुवा बन्दै” भनेजस्तो गरी विभिन्न रुप, रङ्ग बोकेका फोटोहरू आउँदै  गर्थेहोलान् l धेरैको घाँटीमा विदेशी खादा र अर्कै देशबाट किनेर भएपनि फूलको माला पहिरिन्थ्यो होला lकुवाको पानी अन्जुलीमा लिँदै कुनै ठूलो सार्वजनिक पदको (गह्रुङ्गो पदभार बोकेका) महान पदाधिकारीबाट कुवाको उद्घाटन हुन्थ्यो होला l शिलालेखमा को-कसको नाम लेख्ने भन्ने कुरामा विवाद पर्न पनि सक्थ्यो l उद्घाटनमा निम्तो छुटेका वा आसनग्रहणमा तलमाथी परेकाहरुको चित्त पहिले नै अमिलो भैसक्थ्यो होला l सरकारी पद नभएको हुनाले घाँसीको आसन ग्रहण नहुन पनि सक्थ्यो र शिलालेखमा नाम नपर्न पनि सक्थ्यो lकतै उनीपनि कुवा खनेर नाम अमर राख्ने लक्ष्यभन्दा पनि कुवा खन्ने उपभोक्ता समितिको अध्यक्षको लागि पो दाबी गर्थे कि ?
  • कुवामा पानी आउँथ्यो कि आउँथेन तर फेसबुकमा कुवा सम्बन्धी पोस्टहरूको बाढी नै आइसकेको हुन्थ्यो होला l

धन्य त्यो जमानामा फेसबुक थिएन र घाँसी सरासर कुवा खन्न तिर लागे l उनले चुपचाप पसिना बगाएर आफ्नो लक्ष्यमा सफल मात्रै भएनन्, उनीबाट प्रेरित भएर भानुभक्त “आदिकवी भानुभक्त’’ बन्न पुगे l अहिलेको युगमा भएको भए कुवा सफल होस् कि नहोस तर घाँसी फेसबुकमा पोस्ट गर्दै, लाइक र कमेन्ट गन्दै मख्ख परेर बस्थे होलान lकुवा सम्पन्न होस् कि नहोस तर त्यो भन्दा पहिले नै उनी फेसबुकको कुवामा फसिसकेका हुन्थे होलान l

अब भानुभक्तको बारेमा कल्पनाको भट्टीमा अनुमानको रोटि सेकौ lरामायणको नेपाली अनुवादको कल्पना मनमा उठ्ने बित्तिकै उनी पनि सरकारी निकायको दैलो सम्झिन्थे होलान् l मुलुकमा ७६१ सरकार भएकोले उनको आर्थिक सहायताको दरकार पूरा हुन् कुनै कठिनाई हुनु नपर्ने हो lतर उनलाई केहि कुरामा उल्झन पनि पर्न सक्थ्यो l भानुभक्तको बारेमा यसरी कोरा कल्पना गर्न सकिएला कि ?

  • तीन थरी सरकारमा आर्थिक सहायताको लागि दगुर्नु अघि सुरुमा रामायणको नेपाली अनुवादको आवश्यकता, महत्त्व आदि समेटेर एउटा ‘पावर पोइन्ट प्रिजेन्टेशन’ बनाएर ‘पेन ड्राइभ’ र ‘ल्यापटप’ तयारी हालतमा राख्थे होलान l अहिलेको युगमा भए पोशाकको चिन्ता पर्न सक्थ्यो सायद भानुभक्तलाई l लगाउन नपाइने भनेर कसैले नभनेको भएपनि ‘चट्ट दौरा-सुरुवाल र बिर्के टोपी’ भिरेर जानु भन्दा ‘कोट, पाइन्ट र टाई’ नै बढी सुरक्षित् महसुश हुन्थ्यो कि ? उनको युगको पोशाकमा भन्दा अहिलेको जमानासँग तालमेल हुने लुगा लगाउँदा उनले पाउन सक्ने सम्भावित सहयोगको राशी ठूलो हुन् सक्थ्यो कि ?
  • पोशाक भन्दा अर्को ठूलो धर्म संकटको संभावना पनि देखिन्छ l  रामायणको कथालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण हुनसक्थ्यो अहिलेको जमानामा l उस्तै परे कतिपय व्यक्तिको आक्रोसको सिकार हुन सक्ने संभावनालाई पनि नकार्न मिल्दैनl जे होस् उनको योजनालाई सबैले एकै अर्थमा भने पक्कै पनि लिने थिएनन् होला l
  • अहिलेको युगमा रामायणको नेपाली अनुबाद भै नै हालेको भएपनि त्यसले के कस्तो प्रतिक्रिया उत्पन्न हुन् सक्थ्यो होला ? उनको तेतिबेला लेखिए जस्तो ‘बधुशिक्षा’ लाई अहिलेका बधु, सम्भावित बधु र अधिकारकर्मीहरूले कुन रुपमा लिन्थे होलान्?
  • भानुभक्तको बारे अर्को प्रश्न पनि मेरो मनमा उब्जिन्छ l अहिलेको युगमा जन्मेका भए उनी कुन पार्टी वा राजनीतिक धाराको छहारी मुनि आफूलाई सुरक्षित् महसुश गर्थे होलान् त ? कुनैपनि पार्टीमा नलाग्यो भनेपनि ‘आदिकवी’ को पगरी उनैले पाउन सक्ने संभावना रहन्थ्यो कि रहन्थेन् ?
  • सोझो हिसाबले भन्नुपर्दा अहिलेको युगमा जन्मिएका भए भानुभक्तको साहित्यिक यात्रा कस्तो खालको हुन्थ्यो होला र उनका बारेमा फेसबुकको भित्ताभरी के-के पढ्न पाइन्थ्यो होला ? उनी आफैंले आफूलाई महान साबित गर्न फेसबुकको भित्ताभरी आफ्नो आत्म प्रसंशा गर्थे होलान कि गर्दैनथे होलान् ?

घाँसी र भानुभक्तसँगको मेरो भेटघाट कितावका पानाहरुमा भएको हो lघाँसीकुवा अझैं नदेखेको भएपनि भानुभक्तीय रामायणको वाचन र रस्वादन भने मैले बाल्यकाल देखि अहिले सम्म गर्दै आएको छु l भानुभक्तका साहित्यिक कृति पढेको हिसाबले उनी र म बीच लेखक/सर्जक र पाठकको नाता पर्छ l भानुभक्तसँग यो नाता परिसकेपछी उनको प्रेरणाका स्रोत घाँसीसँग पनि नजिककै नाता परेजस्तो महसुश गर्छु l आफ्नो नाता,गोता र आफन्तको निकै धेरै चिन्ता गरिने यो समयमा मैले उनीहरूको चिन्ता गर्नु पनि स्वाभाविकै हो जस्तो लाग्छ l उनीहरूका प्रति मेरो मुख्य चिन्ता यति मात्र हो कि, यदि आजको फेसबुकको युगमा भएका भए ‘’घाँसी ‘घाँसी जस्तै’ पवित्र’’ र ‘’भानुभक्त ‘आदिकवी भानुभक्त’ जस्तै आदरणीय’’ हुन सक्थे किवा उनीहरु पनि मौसम अनुसारको बाँजा बजाउँदै कर्ममुखी भन्दा बढी प्रचारमुखी भएर आफ्नो स्वार्थ सिद्धिमा व्यस्त हुन्थे होलान् ? यही प्रश्नले मेरो दिमागमा धेरै चोटी चक्कर लगाएको हुन्छ l

                                                            धर्मराज जोशी (उपसचिव, नेपाल सरकार)

(हाल: जापानको टोकियोस्थित “वासेदा विश्वविद्ध्यालयमा’’ स्नातकोत्तर तहमा अध्ययनरत)





सम्बन्धित समाचार