
आजभोलि प्रख्यात छ भकुण्डेको बजार
वि.पी.मार्ग खुलेपछि बड्यो चल्ती हजार
किन रह्यो ‘भकुण्डे’ नाम भन्ने खोज्दा कुरो
इतिहास खोज्दा बल्ल पत्ता लाग्यो चुरो
सुन्नुहोस् दाजुभाइ केही कुरा कहन्छु ।
भकुण्डेको ऐतिहासिक कथा एउटा भन्छु
परापूर्वकालमा थियो खेतीयोग्य फाँट
रोपाईं हुँदै थियो अरे असराको मास
असारको चर्को घाम रोपाई हुँदै थियो
दिउँसो खाजा दोफरे खाने कुरा भयो
भैरव अनि नागराजालाई चढाउन बिर्से
सबको मनमा शंका थियो गल्ती ठूलो भयो
भरेसम्म रोपाईंमा के चै विघ्न पर्ने हो
खाजा खाई रोपाईंको हुन थाल्यो काम
बादल आयो आकाशमा छेकी दियो घाम
मेघ गज्र्यो जमिन सबै कम्प आउने गरी
एकैछिनमा पर्न गयो मुसलधारे झरी
मेलो सक्न थोरै थियो रोपार लागे रोप्न
लाठे हली सबै लागे आफ्नो काम सक्न
खेत थियो जलमग्न खोला बाढी सरी
खेतका आली देखिन्नथ्यो कतै वरीपरी
त्यसैबेला अचानक सबै भासिएर
अलप भए लाठे रोपार हली गोरु सब
वरपर भन्न लागे ठूलो विघ्न प¥यो
भैरव– नाग रिसाएर यस्तो हुन गयो
दुम्जा नजिक गजुल दहमा लाठे रोपार हली
बिउलेका रोपार, बाउसे गोरु हलो पनि
गजुल दहमा तैरिएको देख्ने काशी राम
हावा सरी फैलियो रे खबर जहाँतहाँ
खबर ल्याए काशीराम दहालले पैले
काशिम्टार उनकै नामले भन्ने गर्छौं ऐले
त्यसैबेलादेखि वस्ती दाहालको भयो
कुण्ड बने तीन ठाउँमा अझै सम्म छ नि
त्यस्तै कुरा सुनाउँथे हाम्रा पूर्खा पनि
कुण्ड नजिक जानु हुन्न भन्थे बूढापाका
सानो छँदा भन्ने गर्थे नागभैरवले तान्छ
कुण्ड नजिक जान पनि धेरै डर लाग्थ्यो
सर्पहरू त्यो कुण्डमा देख्दा डर लाग्थ्यो
विस्तार विस्तार पुरिएर कुण्ड साना भए
तीनबाट बाँकी कुण्ड दुई बाँकी रहे
बल्ल ऐले भैरवको कुण्ड बन्दै गा’छ
भकुण्डेको इतिहास संरक्षण भा’छ
यस्तै अरु पुरातत्व वस्तु खोजी गरौँ
ती पुराना वस्तुहरू पोखरी र ताल
संरक्षण सम्वद्र्धनमा सबले गरौँ ख्याल
हरिकृष्ण सिलवाल, नमोबुद्ध नगरपालिका वडा नं ४, (फोन : ९८४१००५०१०)