
काठमाडौँ उपत्यकामा चै हैन होला कि जिल्ला प्रसासन मा चाहि होला कि काठमाडौं । बुधबार तीन लाख १५ हजारका साथमा भारतले कोरोना संक्रमणमा विश्वमै नयाँ रेकर्ड छोयो, यसअघि गत ८ जनवरीमा अमेरिकामा तीन लाख सात हजार केस दर्ज भएका थिए । त्यतिन्जेलसम्मको उच्च रेकर्ड बनाएपछि अमेरिकामा संक्रमण ओरालो लागेको थियो । तर, भारत भने दिनहुँ उकालो लागिरहेको छ । बिहीबार तीन लाख ३२ हजार, शुक्रबार तीन लाख ४५ हजार र शनिबार तीन लाख ४९ हजार नयाँ संक्रमण पुष्टि भएका छन् । आइतबार पनि मध्यरातसम्म तीन लाख ५४ हजार संक्रमित भएको तथ्यांक अपडेट भइसकेको थियो । हरेक दिन दुई हजार पाँच सयको आसपासमा मृत्यु रेकर्ड भएका छन् ।
खासगरी दिल्ली, महाराष्ट्र, गुजरातसहित भारतभरि कोभिड संक्रमण आक्रामक छ, यिनै क्षेत्रमा नेपालीको घनत्व धेरै छ । त्यसैले आमभारतीयजस्तै विभिन्न पेसा, व्यवसाय र मजदुरी गर्ने नेपालीमा पनि कोभिडको संक्रमण तीव्र भएको छ । तर, मूल निवासीले नै अस्पतालमा बेड र अक्सिजन नपाएकाले नेपालीको पीडा हिसाबमै आएको छैन ।

अस्पतालमा पहुँच नभएको भन्दै नेपालीले प्रवासी नेपालीसम्बन्धी विभिन्न संगठनसँग हारगुहार गर्न थालेका छन् । दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाका अनुसार दिल्लीमा यही साता ३५ वर्षभन्दा मुनिका तीन नेपालीको ज्यान गएको छ । त्यस्तै, मुम्बईमा उपचार नपाएर एकजनाको मृत्यु भएको छ । ‘नेपाली भएकै कारण भारतमा उपचार नभएको होइन, यहाँको स्वास्थ्य प्रणालीले नै थेग्न नसकेको असर नेपालीमा पनि परेको छ,’ रानाले दिल्लीबाट भने, ‘मैले बुझेसम्म नेपालीलाई उपचारमा भेदभाव भएको छैन । तर, भारतमा कोभिडका बिरामीको बढ्दो चापका कारण नेपाली मात्र होइन, सबै मर्कामा छन् ।’ त्यस्तै देहरादुनमा एकजना मृत्यु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार भारतमा कति नेपाली संक्रमित छन् भन्ने तथ्यांक संकलन हुन सकेको छैन । ‘भारतमा महामारी भयावह भएकाले कहाँ कति नेपाली प्रभावित छन् भन्ने वैज्ञानिक तथ्य संकलन हुन सकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने ।
अखिल भारत नेपाली एकता समाजका महासचिव आरबी खड्काका अनुसार भारतभरि नेपाली विद्यार्थी र कामदार निकै ठूलो संख्यामा संक्रमित भएका छन् । ‘जस्तो कि दिल्लीको लक्ष्मीनगरमा विद्यार्थीलाई कोरोना भेटिएको छ, अस्पतालमा उपचार नहुने भएपछि केही औषधि खाएर उनीहरू डेरामै बसेका छन्, कतिपय गम्भीर बिरामी पनि कोठामै बसेका छन्,’ खड्काले टेलिफोनमा भने, ‘दुई साताभन्दा बढी समयदेखि निरन्तर ज्वरो आएका पनि अस्पताल जाने अवस्था नभएर डेरामै छन् । नेपालीमा त अहिले घरै बसे बाँचिएला, अस्पताल गइयो भने फर्केर आइँदैन भन्ने मनोविज्ञान देखिन्छ ।’ नयाँ पत्रिका