५ बैशाख २०७८, आईतवार   945 पटक हेरिएको


image

व्यक्तिगत स्थायी लेखा नम्बर(प्यान) लिनेको सङ्ख्या २३ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार फागुनसम्म २३ लाख ५४ हजार ३६० जनाले प्यान लिएका छन्। चालू आर्थिक वर्ष ०७७÷७८ को आठ महिनाभित्र मात्रै चार लाख ३२ हजारले व्यक्तिगत प्यान लिनेको सङ्ख्या थपिएको छ। पाँच हजार रुपियाँ माथिको भुक्तानीमा प्यान अनिवार्य गरिएपछि पछिल्लो समय यसमा दर्ता हुने क्रम बढीरहेको छ।

सरकारले आव ०७६÷७७ को बजेटमार्फत आयआर्जनमा संलग्न अथवा व्यवसाय गर्नेले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको थियो। ‘एक व्यक्ति एक प्यान’को नीतिसहित सरकारले करको दायरामा समेट्न प्यान दर्ता प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको छ। मन्त्रालयका अनुसार फागुनसम्म १५ लाख ४८ हजारले व्यावसायिक प्यान लिएका छन्।

चालू आवको सुरुवातसम्म यस्तो सङ्ख्या १३ लाख ५९ हजार थियो। करकट्टी गर्ने हरेक निकायले पनि प्यान लिनुपर्ने व्यवस्थाअनुसार त्यस्ता निकाय पनि दर्ता हुने क्रम बढीरहेको छ। फागुनसम्म तीन हजार ९४ ओटा करकट्टी गर्ने निकायले प्यान लिएको मन्त्रालयको तथ्याङ्क छ।

व्यक्तिगत, व्यावसायिक र करकट्टी गर्ने निकायसमेत गरेर फागुनसम्म ३९ लाख ११ हजार प्यान वितरण भइसकेको छ। गत असार अन्त्यसम्म यस्तो सङ्ख्या ३३ लाख ३७ हजार थियो। अर्थात् चालू आवको आठ महिना भित्र थप पाँच लाख ७४ हजार प्यानमा दर्ता भएका छन्।

अघिल्लो फागुनदेखि गत फागुनसम्मको अवधिमा १० लाखभन्दा बढी प्यानमा दर्ता भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकै तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको आठ महिनासम्म थप २६ हजार ५६३ मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका छन्। सोसमेत गरी अहिलेसम्म दुई लाख ८२ हजार ५२६ भ्याटमा दर्ता भइसकेको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै यो चालू आठ महिनाको अवधिमा १५ हजार अन्तःशुल्कमा दर्ता भएका छन्। सोसमेत अहिलेसम्म एक लाख नौ हजार २९८ अन्तःशुल्कमा दर्ता भइसकेका छन्। यो सबै सङ्ख्या दर्ता खारेजीपछि कायम भएको मन्त्रालयले स्पष्ट पारेको छ। गोरखापत्रमा खबर छ ।





सम्बन्धित समाचार