
बैंक तथा वित्तीय संस्थामा २०औं वर्षदेखि निष्क्रिय (डोरमेन्ट) रहेका खाताको निक्षेप रकमलाई सरकारका विकास निर्माणका काममा खर्च गर्नेगरी नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउने भएको छ । बैंकमा २० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुने रकमलाई व्यवस्थित गर्न कार्यविधि बनाउन लागिएको राष्ट्र बैंकले बताएको छ ।
यस्तो रकमलाई के कसरी प्रयोगमा ल्याउने भन्नेबारे ठोस कार्यविधि जरुरी भएकाले केन्द्रीय बैंकको बैंकिङ विभागले केकसरी गर्ने भन्नेबारे हेरिरहेको प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । केन्द्रीय बैंकमा २० वर्षे पुराना निष्क्रिय खाता संख्या र रकम के कति छ भनेर उनले खुलाउन चाहेनन् । ‘कार्यविधि बनाएपछि ठोस निर्णय गर्न सजिलो हुन्छ । यसपछि तथ्यांक दिँदा राम्रो होला,’ उनले भने । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।