
भक्तपुर । भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा लागेको एकमहिने माधव नारायण मेला एवं ब्रत आजबाट समापन भएको छ । नेपाल सम्बतको आठौँ शताब्दीदेखि शुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि शुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजबाट सम्पन्न भएको हो । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ । त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ ब्रत बस्ने गरेको पुजारी चीरञ्जनराज राजोपाध्यायले बताउनुभयो । त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्दै शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गरी ब्रत एवं मेला समापन गरिएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरस महामारीका कारण यस वर्ष मेला सञ्चालनमा भने प्रभाव परेको उहाँले जानकारी दिनुभयो ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउँरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन रहेको छ । ब्रतालुले औंसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गरि अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गरिएको हो । रासस
