
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मा. वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको २०७७ माघ २१ गते ब’लात्कारपछि ह’त्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ ।
आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा वि’भत्स ह’त्या गरी निजलाई फालिएको बुझिएको छ ।
बैतडी लगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ ।

मानव अधिकारको विश्वव्यापी घोषणपत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, बाल अधिकारसम्बन्धी महासन्धि १९८९ तथा नेपालको संविधान एवम् प्रचलित अन्य कानुनले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, सुरक्षित रहन पाउने तथा न्याय प्राप्तिको अधिकारको प्रत्याभूति गरेको छ ।
अतः उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।