२ माघ २०७७, शुक्रबार   243 पटक हेरिएको


image

आजबाट सरकारले सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गर्नुभएको हो ।पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याइएको बताउनुभयो । नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ ।

यसैगरी नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकर हिडिरहनुपर्ने झण्झट अब नहुने बताइएको छ । एपले स्वचालित रुपमा आवश्यक विवरण लिने तथा पुष्टि गर्ने काम गर्दछ । सिंहदरबारमा शुक्रबार आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचनाको उच्चतम प्रयोग गर्दै नागरिकलाई हात हातमै सरकारी सेवा उपलब्ध गराउने एप सञ्चालनमा ल्याएको बताए । आज शुक्रबार नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा दुई वटा भर्सन शुभारम्भ गरिएको बताए ।


मन्त्री गुरुङले सो सेवा आम नागरिकलाई उपलब्ध गराउने  सम्बन्धमा करिब ३ वर्षअघि नेपाल सरकारको नीति तथा कार्यक्रमबाट पारित भएको थियो । ‘कम खर्चमा नेपाल सरकारद्वारा प्रदान गरिने सबै प्रकारका सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम एप निर्माण गरिएको हो,’ उनले भने ।मन्त्रालय सचिव हरिप्रसाद बस्यालले मोवाइल एप मार्फत सवारी कर, लाइसेन्स, नवीरकण, लोकसेवा लगायतका सेवा प्राप्त गर्न सकिने बताए । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्य अनुसार एप शुरुवात गरिएको उनले बताए ।सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । तीन वर्षपछि यसले पूर्णता पाएको हो ।





सम्बन्धित समाचार