७ कार्तिक २०७७, शुक्रबार   152 पटक हेरिएको


image

कार्तिक ०७ ,२०७७,शुक्रवारदेखि नेपाली दर्शकले केवल टेलिभिजन मार्फत आइपिएल( इन्डियन प्रिमियर लिग) हेर्न नपाउने भएका छन्। सरकारले शुक्रवार देखि क्लिन फिड(विज्ञापन रहित प्रसारण) लागु गर्ने भएकोले नेपाली दर्शकले आइपिएल हेर्न नपाउने भएका हुन्।गत वर्ष आएको विज्ञापन ऐनमा कार्तिक आठ गतेदेखि क्लिन फिड लागु हुने व्यवस्था गरिएको थियो। सोही व्यवस्था अनुसार शुक्रवारदेखि क्लिन फिड लागु हुने छ। क्लिन फिड लागु गर्दै गर्दा विदेशी च्यानलहरुले भने नेपालमा पर्याप्त तयारी गरेका छैनन्।शुक्रवारदेखि जम्मा जम्मी ३२ वटा विदेशी च्यानल मात्रै प्रसारण हुने भएको छ। जसमा बिहीबारसम्म २० वटा च्यानलले विज्ञापनरहित प्रसारण दिने तयारी गरिसकेका छन् भने शुक्रवार १२ च्यानल थप हुने केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार शुक्रवारदेखि नेपाली टेलिभिजनका दर्शकले दुई समूहका मात्रै च्यानल हेर्न पाउने छन्। जसमा सोनी र जी टिभीका च्यानल मात्रै हुने छन्। सोनीका १९ च्यानल प्रसारण हुने छन् भने वाँकी जिटिभिका हुने बताइएको छ। अन्य निःशुल्क र सशुल्क सबै च्यानल भोलिदेखि बन्द हुने पराजुलीले स्पष्ट पारेका छन्। “सरकारले शुक्रवार देखि क्लिन फिड लागु गर्ने भनेको छ। यति बेला सम्म ३२ च्यानलले मात्रै क्लिन फिड सेवा दिने खबर पाएका छौ। क्लिन फिड सेवा नदिने च्यानल हामीले बाध्य भएर बन्द गर्नुको विकल्प छै” पराजुलीले भने।यति बेला नेपाली दर्शकले अभिरुचि पूर्वक हेरिरहेको खेलकुदका सबै च्यानल हरू बन्द हुने छन्।जसले यति बेला चलिरहेको आइपिएलाई समेत प्रभावित पार्ने छ। शुक्रवारदेखि प्रसारण हुने च्यानलमा उक्त प्रतियोगिता देखाउने लगायत कुनै पनि खेलकुदका च्यानल छैनन्।शुक्रवारदेखि मनोरञ्जन,धार्मिक, इन्फोटेन्मेन्ट, सिनेमा, समाचार लगायतका सबै च्यानल बन्द हुने छन्।नेपालमा एक सय वटा सशुल्क च्यानल र १२० वटा निःशुल्क च्यानल प्रसारण हुँदै आएका थिए। जसमा निःशुल्क कुनै पनि च्यानल प्रसारण हुने छैनन्। किनकि निःशुल्क च्यानलले क्लिन फिड दिने गरेका छैनन्। तर ती च्यानलमा विज्ञापन सहितको मात्रै प्रसारण हुने गर्छ। तर नेपालमा क्लिन फिड च्यानल मात्रै देखाउन पाउने प्रावधान छ। जसले गर्दा ती च्यानल निःशुल्क भएपनि टेलिभिजन दर्शकले भने हेर्न पाउने छैनन्। सशुल्क च्यानलमा ३२ वटा च्यानल मात्रै नेपाली दर्शकले हेर्न पाउने छन्।नेपाली दर्शकले थोरै च्यानल हेर्न पाए पनि शुल्क भने उही नै तिर्नु पर्ने छ। केबल टेलिभिजनले जति वटा च्यानल दिन्छन् त्यति नै हेरेर चित्त बुझाउनु पर्ने छ।

आउने दिनमा भने थप च्यानलहरू थपिँदै जाने पराजुलीको भनाइ छ। च्यानल थपिएसँगै उपभोक्ताले तिर्ने रकम समेत बढ्ने पराजुलीको भनाइ छ। उनका अनुसार नेपाली उपभोक्ताले अरू च्यानल थपिए सँगै आउने दिनमा अहिले तिरिरहेको रकम भन्दा कमसेकम दाेब्बर हुने उनको जिकिर छ।

आउने दिनमा बिस्तारै सशुल्क च्यानल थपिँदै जाने बताइएको छ। यति बेला भने पूर्ण तयारी नभएको कारण ती अन्य च्यानल प्रसारणमा आउन नसकेको उनको भनाइ छ। विदेशी च्यानल सेवा प्रदायक हरुले सरकार सँग तयारीकालागि केही समय माग गरेका थिए। तर नेपाल सरकारले एक वर्ष अघिकै व्यवस्था भन्दै म्याद थप नगरिदिएका कारण ती च्यानल प्रसारण हुन नसकेको बताइएको छ।

विज्ञापन ( नियमन गर्ने) ऐन,२०७६ को दफा ६ मा क्लिन फिडको लागि स्पष्ट व्यवस्था गरेको छ। सोही बमोजिम सूचना तथा सञ्चार मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको हो।

उक्त ऐनको दफा १४ मा विज्ञापन बोर्ड गठन गर्नु पर्ने भनिएको छ। गठन भएको उक्त बोर्डले दफा ३७ अनुसार ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा रही आवश्यक मापदण्ड बनाउन सक्ने भनिएको छ। उक्त नियमावली सरकारले हालै  स्वीकृत गरेको छ। सरकारले सोही नियमावलीमा टेकेर हाललाई मन्त्रालयकै सहसचिवको नेतृत्वमा बोर्ड समेत गठन गरिसकेको जनाएको छ। साभार- मेरोलगानी.कम





सम्बन्धित समाचार