
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान अत्यधिक चिसो महसुस गरिएको छ । दिनानुदिन जाडो बढिरहेको उपत्यकामा सोमबारको दिन चार डिग्री सेल्सियस रहेको थियो भने न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ,’ मौसमविद गंगा नगरकोटीले भनिन्, ‘यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश नं। १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।