१९ मंसिर २०७७, शुक्रबार   255 पटक हेरिएको


image

विषय प्रवेश:

विवाह (बिहे) दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्र अ-आफनै तरिकाले गर्ने गरिञ्छ।विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ्ह। मनुस्मृतीले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन्।

विध्यमान कानुनमा विवाह :
बिगतमा तत्कालीन कानुन विवाह दर्ता ऐन २०२८ लागु रहेको अवस्था थियो भने हाल २०७५ साल भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता २०७४ ले विवाहको परिभाषा गरेको छ । पुरुष र महिलाबीच दाम्पत्य जीवन प्रारम्भ भएपछि एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ । प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने स्वतन्त्रता हुनेछ । विवाह जुनसुकै किसिमबाट भएको भए पनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्नेछ भनी कानुनमा स्पष्ट व्यवस्था छ ।

दर्ताद्वारा विवाह :

कानूनले तोकेको उमेर पुरा गरेका महिला पुरुष दुवैले एक आपसमा मन्जुरी भइ अदालतमा गै गरिने विवाहलाई दर्ता द्वारा विवाह (कोर्ट म्यारिज)भनिन्छ ।यो कानुन प्रारम्भ हुनुभन्दा अघि कोर्ट म्यारिजका लागि जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन गर्नुपर्ने प्रावधान  थियो । दर्ताद्वारा विवाह गर्दा मुलुकी देवानी संहिता २०७४, र मुलुकी देवानी कायविधि संहिता २०७४ ले तोकेको कानुनी प्रकृया पुरा गरेको हुनु पर्दछ । अनि मात्र त्यसले कानुनी मान्यता प्राप्त गर्दछ । विवाह सम्बन्धि नेपालको कानुनी व्यवस्था समाजलाई सभ्य, नैतिकवान्,अनुशासित, मर्यादित र मानव अधिकार मैत्री बनाउने दिशामा केन्द्रित छ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ अनुसार नेपालभित्र रहेका कुनै महिला र पुरुषले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेसा, बाबु, आमा, बाजे, बज्यैको नाम,यस अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा खुल्ने प्रमाण तथा कम्तीमा दुई जना साक्षीको नाम समेत खुलाई सम्बन्धित जिल्ला अदालत समक्ष प्रचलित कानून अनुसार विवाह गर्न उमेर पुगेका महिला र पुरुषले तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ। निवेदन साथ अविवाहित प्रमाणित स्थानीय तहको सिफारिस पत्र,नागरिकताको प्रमाण पत्रको सक्कल साथै प्रतिलिपि, अन्य जिल्लामा बसोबास गर्नेको हकमा हाल आवेदन पेश गरेको जिल्लामा कम्तीमा १५ दिनअघि  देखि बसोबास गर्दै आएको प्रमाण स्वरुप स्थानीय तह वडाको सिफारिस ,महिला र पुरुषको  ५/ ५ प्रति पासपोर्ट साइजको फोटो र आवश्यकता अनुसार प्रहरी प्रतिवेदन संलग्न गर्नु पर्नेछ ।सोही ऐनको दफा ७८ मा दर्ता विवाह गर्दा अदालतले बुझ्नको लागि ७ दिनको समय दिएको हुन्छ भने  दर्ताद्वारा विवाह गर्न चाहने महिला र पुरुष दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्दछ।

त्यसैगरी विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गर्न चाहेमा आफ्नो मुलुकको सिफारिस ल्याउनु पर्दछ भने सम्बन्धित मुलुकको कानुन अनुसार विवाह गर्न योग्य पनि हुनु पर्दछ। नेपालमा महिला पुरुषको विवाहको लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने भन्ने व्यवस्था  भए जस्तै विदेशी व्यक्तिको हकमा सम्बन्धित देशमा कति उमेरमा विवाह गर्न मिल्ने कानुनी व्यवस्था छ सो उमेर पुरा भएको हुनुपर्दछ। यसका लागि विवाह सम्बन्धी सम्बन्धित मुलुकको कानुनी व्यवस्थाको नेपाली भाषामा कानुन बमोजिम अनुवाद गरिएको कानुनी व्यवस्थाको प्रतिलिपि पनि साथै राखी निवेदन दिनुपर्ने हुन्छ । निवेदन साथ नेपालीको हकमा अविवाहित प्रमाण पत्र र नागरिकताको छायाकपी, विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि, सम्बन्धित राजदूतावास वा देशको महिला र पुरुषको ७ र ७ प्रति पासपोर्ट साइजको फोटो आवश्यकता अनुसार प्रहरी प्रतिवेदन संलग्न गर्नु पर्दछ ।

नेपाल भित्र महिला पुरुष  वसोवास गरी आएको संवन्धित जिल्ला अदालत र विदेशमा नेपालको राजदूतावास वा महावाणिज्य दूतावासबाट पनि दर्ताद्वारा विवाह गर्न सकिन्छ । विदेशमा विवाह गर्दा माथि उल्लेखित सम्पूर्ण विवरण खुलाई नेपालको सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावास समक्ष निवेदन दिनु पर्नेछ। निवेदन दिनको लागिमहिला वा पुरुष  वा दुवै निवेदन दिनु अघि राजदूतावास वा महावाणिज्य दूतावास रहेको सम्बन्धित देशमा कम्तीमा पन्ध्र दिनदेखि रहे बसेको हुनु पर्नेछ।

दर्ताद्वारा विवाहका लागी महिला र पुरुषको निवेदन परेमा दुतावासका सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले ७ दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्दछ । विदेशस्थित सम्बन्धित अधिकारीलाई प्रस्तावित विवाहको सम्बन्धमा कुनै शङ्का लागेमा नेपाल सरकार समक्ष पेस गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ भन्ने व्यवस्था कानूनमा रहेको छ।

दफा ७९ मा निवेदक बिच विवाह हुने निर्णय भएमा सम्बन्धित अधिकारीले निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानुन बमोजिम एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको ब्यहोरा समेत खुलाई विवाहको सहमति पत्र तयार गरी आफ्नो रोहबरमा निजहरू तथा उपस्थित साक्षीहरूको सहिछाप गराई त्यस्तो सहमति पत्रमा आफूले समेत सहिछाप गर्नु पर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी दफा ८० मा सहमति पत्रमा सहिछाप गराई सकेपछि सम्बन्धित अधिकारीले त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी आफ्नो र विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्नेछ। विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह दर्ताका पक्षहरूलाई प्रचलित कानुन बमोजिम तोकिएको ढाँचामा विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ। विवाह दर्ताको प्रमाणपत्र पाएको दिनदेखि ती महिला र पुरुष  विचमा विवाह भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।

अन्तमा,विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्व सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । मानव जीवनको विकासक्रमलाई हेर्दा शारीरिक, मानसिक तथा सामाजिक विकास पूर्ण हुन पूर्ण किशोरावस्था वा १९ बर्ष पार भएको हुनुपर्दछ । किशोरावस्थामै हुँदासम्म चाहिँ शारीरिक तथा मानसिक विकासको क्रम जारी नै रहने र शैक्षिक तथा जीवनपयोगी सीप सिक्ने कुरा पनि पूर्ण विकास भइसकेको हुन्न ।यसरी विवाह गर्न परिपक्व भइसकेका महिला र पुरुषले कुनै कानुन व्यावसायीको सल्लाह र सहयोगमा अदालत मार्फत सजिलोसँग दर्ताद्वारा विवाह गर्न गराउन सक्दछन ।

 अधिवक्ता- सुवासचन्द्रअधिकारी

सम्पर्क न .९८४५१२७०१८,हेटौडा





सम्बन्धित समाचार