
काठमाडौं:- सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गते देखि निष्काशन गरेको साधारण शेयरमा माग भन्दा १९ गुणा भन्दा बढीको आवेदन परेको जानकारी प्राप्त गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार बेलुका ५ बजे सम्ममा ७ लाख २३ हजार ९२६ जना आवेदनबाट ८१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको ८१ लाख ६३ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्व-साधारणलाई निष्काशन गरेको कित्ताको १९.६७ गुणा बढी हुन जान्छ । कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्।